अध्ययन, व्यवसाय, काम तथा अन्य विभिन्न कारणबाट परदेशिएका बाग्लुङ जिल्लाको बिहुँ करलिमका युवाहरूले स्थापना गरेको करलिम कल्याण कोषको वेवसाईटको शनिवार औपचारिक उद्घाटन भएको छ ।
परदेशमा रहेरपनि आफ्नो जन्म ठाऊँ अनि गाऊँलाई विभिन्न किसिमले सेवा अनि टेवा पुऱ्याउन साकिन्छ भन्ने उद्देश्यका साथ विभिन्न देशमा रहेका बाग्लुङ बिहुँ करलिमका युवाहरुले २०७८ सालमा करलिम कल्याण कोषको स्थापना गरेका थिए ।
कोषले गरेका विभिन्न गतिविधि अनि सेवा र सहयोगलाई सबैका माझ सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ करलिम कल्यान कोष डट कमको शुभारम्भ गरिएको कोषले जनाएको छ । सो वेवसाईटको भर्चुअल र भौतिक रुपमा संस्थाका ३ जना संरक्षकहरू जापानबाट दीपक सुवेदी र डण्डपाणी कँडेल (डिपी) अनि यूके लण्डनबाट भर्चुअल रुपमा डा.नारायण कँडेलले समुदघाटन गर्नुभएको थियो ।
करलिम कल्याण कोषले अभिभावकविहीन, असहाय, जेहेन्दार विधार्थीहरूलाई आवाशीय सुविधासहितको सेवा प्रदान गर्दै आएको जानकारी दिदैं सो कोषका संस्थापक लक्ष्मणदत्त सुवेदीले हालसम्म ४७ जना विद्यार्थी कोषको सहयोगबाट लाभान्वित भएको बताउनुभयो । उँहाका अनुसार, अब कोषका गतिविधिलाई नियमितरूपमा समावेश गर्दै जाने योजना बनाईएको छ भने विश्वभरबाट https://karlimkalyankosh.com/ मार्फ़त त्यसको जानकारी लिन सकिने बताउनुभयो ।